“राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण” भन्ने मूल नाराका साथ २०७९ साल आषाढ ३१ गते स्थापना भएको नेपाल उद्योग व्यापार महासंघ (FNIC) ले साना तथा मझौला उद्योगी–व्यवसायीहरूको हक, हित तथा अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ। साथै, महासंघले सम्बन्धित सरकारी निकायहरूसँग नीति निर्माण तहमा प्रभावकारी पैरवी गर्दै आएको कुरा सर्वविदितै छ।
महासंघको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भई खिमनारायण पराजुलीको अध्यक्षतामा मनोनित बाहेक ९२ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ। पछि ७ जना सदस्य मनोनयन गरिनेछ, जसपछि केन्द्रीय कार्यसमिति ९९ सदस्यीय हुनेछ।
उक्त महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापना कार्यक्रम सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले आफ्नो आगामी कार्यदिशा, नीतिगत प्राथमिकता तथा संगठनात्मक योजनाबारे जानकारी गराएको छ।
नवनिर्वाचित नेतृत्वले देशको आर्थिक समृद्धि, उत्पादनमुखी अर्थतन्त्र निर्माण, स्वदेशी उद्योग संरक्षण, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। महासंघले विशेष गरी साना तथा मझौला उद्योगी–व्यवसायीहरूलाई वर्तमान आर्थिक चुनौतीबाट उकास्न राज्यबाट सहुलियतपूर्ण नीति, सहज वित्तीय पहुँच, कर प्रणाली सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि निरन्तर पहल गर्ने जनाएको छ।
त्यसैगरी, महासंघले राष्ट्रिय पूँजी, श्रम, उत्पादन तथा बजारको संरक्षण गर्दै स्वदेशी उद्योगको विकास तथा व्यापार विविधीकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
शैक्षिक परामर्श सम्बन्धी विषय
जेष्ठ १ र २ गते ९५ वटा फर्ममा छापा मारिएको तथा १–२ वटा बाहेक अन्य अधिकांश शैक्षिक परामर्श संस्थामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी प्राप्त भएको छ। यस विषयमा महासंघको स्पष्ट धारणा रहेको छ कि अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायिक फर्महरूलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न दबाब दिइनुपर्छ। अन्यथा, नियमअनुसार कानुनी प्रक्रिया पूरा गरी कानूनसम्मत कारबाही गर्नुको विकल्प छैन।
MRP सम्बन्धी विषय
नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको MRP (Maximum Retail Price) सम्बन्धी व्यवस्थाप्रति नेपाल उद्योग व्यापार महासंघले सकारात्मक ध्यानाकर्षण भएको जनाएको छ। बजारमा मूल्य पारदर्शिता कायम गर्ने तथा अनियमितता नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको व्यवस्था स्वागतयोग्य भए पनि यसको कार्यान्वयनलाई व्यवहारिक, सहज तथा व्यवसायमैत्री बनाउन आवश्यक रहेको महासंघको धारणा छ।
नेपालको बजार संरचना, साना तथा मझौला व्यवसायीहरूको अवस्था, उत्पादन तथा वितरण प्रणाली, भन्सार तथा कर प्रक्रियाका व्यावहारिक पक्षहरूलाई मध्यनजर गर्दै MRP प्रणाली चरणबद्ध रूपमा कार्यान्वयन गरिनुपर्ने तथा न्यून बिजकको समस्या निर्मूल गरी व्यवसायीमैत्री वातावरण सिर्जना गर्नुपर्ने महासंघको जोड रहेको छ।
महासंघका सुझावहरू निम्नानुसार रहेका छन् :
• उद्योगी, व्यवसायी तथा सरोकारवालासँग पर्याप्त परामर्श तथा समन्वय
• साना व्यवसायीका लागि सहजीकरण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन
• कर तथा बिलिङ प्रणालीलाई सरल र स्पष्ट बनाउने व्यवस्था
• डिजिटल मूल्य प्रणाली तथा QR/Barcode प्रणालीको विकास
• प्रारम्भिक चरणमा सुधारमुखी तथा सहजीकरणयुक्त अनुगमन नीति
• स्वदेशी उद्योग तथा उत्पादनलाई सहुलियत प्रदान
महासंघले बजार व्यवस्थापनको नाममा व्यवसायीमाथि अनावश्यक दबाब सिर्जना हुने अवस्था आउन नदिन सरकारसँग आग्रह गरेको छ। व्यवसायीमैत्री वातावरण कायम गर्दै उपभोक्ता हित संरक्षण हुने गरी नीति कार्यान्वयन गरिनुपर्ने महासंघको स्पष्ट धारणा रहेको छ।
साथै, MRP सम्बन्धी नीति कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्या समाधान गर्न सरकार, निजी क्षेत्र तथा उपभोक्ता पक्षबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको महासंघले विश्वास व्यक्त गरेको छ।
महासंघले सम्पूर्ण उद्योगी, व्यवसायी, सञ्चारकर्मी, शुभेच्छुक तथा सरोकारवाला निकायहरूप्रति निरन्तर सहयोग, सद्भाव तथा ऐक्यबद्धताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछ।
मिति : २०८३ जेष्ठ ३ गते, आइतबार स्थान : होटल उडल्याण्ड, दरबारमार्ग, काठमाडौं
खिमनारायण पराजुली
अध्यक्ष
नेपाल उद्योग व्यापार महासंघ (FNIC)